काठमाडौँ — पाँचथरको याङवरक गाउँपालिकामा जङ्गे र कम्फु निसान प्रदर्शन गरिएको छ । यहाँ निसान प्रदर्शनी गर्न थालिएको २ सय ५२ वर्ष पूरा भएको छ ।
यहाँ हरेक वर्ष विजयादशमीको अघिल्लो दिन निसान प्रदर्शन गर्ने चलन छ ।
नवदुर्गा भवानीको प्रतीक र शक्तिका रुपमा मानिँदै आएका कम्फु र जङ्गे नामक दुई निसान याङवरक गाउँपालिका ४ थर्पुको निसानधाम क्षेत्रमा प्रदर्शन गरिएको थियो ।
यी निसान १८३१ सालदेखि देखाउन थालिएको इतिहास छ । विगतमा निसान प्रदर्शनीका क्रममा नेपाली सेनाले समेत सलामी अर्पण गर्ने कार्यक्रम राखिन्थ्यो ।
नेपाल राज्य एकीकरणका क्रममा लिम्बूवान फौज र साहवंशीय सेनाविच छ पटकसम्म भएको युद्धमा दुवैतर्फ हारजित नभएपछि सम्झौता गर्दै साहवंशीय राज्यका सेनाले लिम्बुवानलाई उपहारस्वरुप छोडेका २ वटा निसानसहित तत्कालीन युद्धमा प्रयोग भएका हातहतियार र खुँडाखुकुरी दसैंको अवसर पारेर महानवमीका दिन प्रदर्शन गर्ने चलन छ ।
पृथ्वीनारायण शाहको बाइसे चौबिसे राज्य एकीकरणका समयमा युद्व हुँदा प्रयोग भएका निसान र पुरातात्विक हतियार प्रदर्शन गर्ने यो जात्रालाई मौलो पनि भन्ने गरिएको छ ।
वर्षको ३सय ६४ दिन लिम्बुवानका जिम्मावालहरुको घरमा राखिन्छ । यो वर्ष निसान प्रदर्शन गर्न थालेको २ सय ५२ वर्ष पूरा भएको छ । निसान प्रदर्शनको जिम्वेवारी याङवरक गाउँपालिकाको ४ नम्वर वडाले लिएको छ ।