झापा — झापाको बाह्रदशी गाउँपालिका–२, जनता चोकमा जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार बिहान करिब ५:३० बजे बिहान मर्निङ वाकमा निस्किएका स्थानीय ७३ वर्षीय झक्कु राजवंशी र ७० वर्षीया लजुना खातुनलाई हात्तीले आक्रमण गरेको थियो। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी खातुनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो। उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको प्रहरीले जनाएको छ। त्यस्तै, आक्रमणबाट घाइते भएका राजवंशीलाई सुरुमा बिर्तामोडस्थित स्पाइनेक्स अस्पताल पठाइएको थियो। पछि उनलाई बीएण्डसी अस्पताल लगेर आईसीयूमा उपचार गर्ने क्रममा बिहान १०:४० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।